संसद्बाट नागरिकता विधेयक फिर्ता लिँने सरकारको तयारी
सरकारले प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिने भएको छ। आज बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो।उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेस भएको थियो।
संसद्मा पेस भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ।
प्रतिनिधि सभामा पुगेको समितिको प्रतिवेदनमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान राखिएको छ।राज्य व्यवस्था समितिमा छलफलको क्रममा नेपाली कांग्रेसका सांसद र मधेश केन्द्रित दलका सांसदहरूले यो प्रावधानको विरोध गरेका थिए।