प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायम रहन्छ: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायमै राख्ने बताएका छन् । उनले सोही अनुसार मेहनत गर्न कार्यकर्तालाई निर्देशन दिए ।
गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले आगामी चुनावमा गठबन्धन कायमै रहने र चुनावको तयारी गर्न आग्रह गरे । उनले निर्वाचनमा पार्टीले प्रमुख जितेका पालिकालाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रूणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुन सुझाए ।
२०७४ सालको स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो तरिकाबाट चल्न दिइए पनि अब पार्टीको नीति र सिद्धान्तका आधारमा पालिका चलाउन उनको आग्रह छ ।