दोस्रो पटक पार्टी एकीकरण गर्दै साझा र विवेकशील, के दिगो होला मिलन?


काठमाडौँ– विवेकशील नेपाली दल र साझा पार्टीबीच दोस्रो पटक एकता हुने भएको छ । विघटन भएको २३ महिनापछि फेरि जोडिन लागेका यी दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् ।
आज दिउँसो ३ बजे एक कार्यक्रमका बीच पार्टी एकता घोषणा हुनेछ ।
एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहनेगरी व्यवस्था मिलाइएको छ ।

सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच एकीकरण हुने भएको हो । पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअल माध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छन् ।

तर विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका छन् ।

यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो ।

पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ ।साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक रहनेछन् । दुवै जनामा कार्यकारी अधिकार हुने सम्झौतामा हस्ताक्षर हुँदैछ ।

सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *