अहिले नै हारजित निश्चित गर्नु हतार हुन्छ : सिर्जना सिंह
सिर्जना सिंहकाठमाडौँ महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आस अझै नमरेको बताएकी छन् । राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुगेकी सिर्जनाले आफू जित्ने आशा अझै रहेको बताएकी हुन् ।
‘कतिपय वडामा हामी जितिरहेका छौं, अझै पनि जित्ने आशा छ । वडाहरूमा पनि राम्रै आइरहेको छ । नआएका वडाहरूमा गुड फाइट दिइरहेका छौं,’ सिर्जनाले भनिन् । अहिले मतपरिणामलाई आफूले सहज रूपमा लिइरहेको भन्दै मतगणना अझै बाँकी रहेकाले अहिले मत परिणामबारे बोल्दा हतार हुने उनले बताइन् ।
‘मैँले सहज रूपमै लिएकी छु । मैँले एक भोटको पनि सम्मान गर्छु । त्यो विषयमा मैले ध्यान दिएकी छैन । सबै परिणाम आइसकेपछि बोल्छु,’ उनले भनिन्, ‘अहिले नै मतपरिणाम बारे बोल्दा हतार हुन्छ । सकिसकेको वडाहरूमा यो भन्दा राम्रो हुनुपर्थ्यो भन्ने हो । सोचेको भन्दा कहीँ नराम्रो पनि भएको छ कहीँ राम्रो पनि भएको छ ।’
स्वतन्त्र उम्मेदवारले के कारणले बढी मत पाइरहेका छन् भन्ने विषयमा अहिले नै बोल्दा हतार हुने उनले बताइन् ।
काठमाडौं महानगरमा ६० हजारभन्दा बढी मतगणना हुँदा स्वतन्त्र उमेदवार बालेन शाहले फराकिलो मतान्तर कायम गरेका छन् । एमालेका केशव स्थापित दोस्रो र कांग्रेसका सिंह तेस्रो स्थानमा छिन् ।