कैलालीको टीकापुर नगर प्रमुखमा रेशम चौधरीको पार्टी विजयी
कैलालीको टीकापुर नगरपालिकाको प्रमुख पदमा नागरिक उन्मुक्ति पार्टीका उमेदवार रामलाल डगौरा थारु विजयी भएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार नवराज रावललाई पराजित गर्दै डगौरा निर्वाचित भएका हुन् ।
थारु ०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट टीकापुर–७ को वडाध्यक्षमा विजयी भएका थिए ।०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गएको पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए ।
टीकापुर नगरपालिकाको उपप्रमुखमा भने गठबन्धनका तर्फबाट उमेदवार बनेका माओवादीका खडकबहादुर शाह विजयी भए । माओवादी केन्द्रले ०७४ मा जितेका वडा नम्बर–७, ८ र ९ लाई कायम राख्दै योपटक उपप्रमुखमा पनि विजय हासिल गरेको छ ।