महिला गोल्डकपः पुलिस फाइनलमा,उपाधिका लागि एपीएफसँग खेल्ने
नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आयोजक वनदेबी युवा क्लबलाई ३-० अन्तरले पराजित गर्दै विभागीय टोली पुलिस फाइनलमा प्रवेश गरेको हो ।बुधबार जितसँगै पुलिसले उपाधिका लागि अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ ।
पुलिसलाई फाइनलमा पुर्याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् ।५६ औँ मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औँ मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाइन् ।
त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेन ।खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् ।