अर्जेन्टिना र ब्राजिलबीच अष्ट्रेलियामा मैत्रीपूर्ण फुटबल हुने
कतार विश्वकप २०२२ अघि ब्राजिल र अर्जेन्टिनाले अष्ट्रेलियाको मेलबर्नमा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
यस मैत्रीपूर्ण खेलले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका स्टार नेयमारलाई विश्वकपअघि आफ्नो टोलीलाई प्रमाणित गर्ने अवसर प्रदान गर्नेछ । यी दुईबीचको खेल ११ जुनमा हुनेछ ।यसअघि दुवै टिमको पछिल्लो पटक विश्वकप छनोटका खेल सेप्टेम्बरमा ब्राजिलको साओ पाउलोमा खेलेका थिए । सो खेल चलिरहेको केही मिनेटमै ब्राजिलियन स्वास्थ्य अधिकारीहरुले मैदानमा गएर चार अर्जेन्टिनी खेलाडीलाई कोभिड-१९ क्वारेन्टिन नियम उल्लंघन गरेको आरोपमा पक्राउ गर्न खोजेका थिए ।
यद्यपि, अर्जेन्टिनी खेल अधिकारीहरुले हस्तक्षेप गरेपछि उक्त खेल स्थगित भएको थियो । हालसम्म स्थगित भएको उक्त खेल खेलिएको छैन ।