विकास विरोधीहरूले अत्तालिएर एमाले नेतृत्वको सरकार ढाले

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले विकास विरोधीहरूले अत्तालिएर आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन् ।
आइतबार नेकपा एमाले हुम्लाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका विकासका काम देख्न नसक्नेहरू सरकार ढाल्न अदालत गएको आरोप लगाएका हुन् ।जनताबाट होइन अदातलबाट सरकार ढालेको ओलीको आरोप छ । जनताले एमालेलाई माया गरेको भएपनि दुनियामा कहीँ नभएको नेपालमा भएको उनले बताए ।
आफ्नो कार्यकालमा काम भए पनि अहिले आएर काम रोकिएको ओलीको दाबी छ । कर्णाली करिडोरले तीव्रता पाउनुका साथै यसको स्तर वृद्धिमा जोड दिनुपर्ने ओलीले बताए । खरका छाना विस्थापित हुनुका साथै, जनता आवास कार्यक्रममार्फत गरिब दुखीले घर पाएको उनको दाबी छ ।
अहिलेको गठनबन्धको सरकारले काम गर्न नसकेको अध्यक्ष ओलीको आरोप छ । निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर गठबन्धन गरेपनि एमालेलाई असर नगर्ने उनको दाबी छ ।