आगामी जेठ १५ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टा सञ्चालनमा आउने


अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन् । बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टिआइए०सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि टिआइएलाई २४सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले कोभिड महामारीपछि बढेको हवाई चापलाई व्यवस्थापन गर्न काठमाडौँको विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने निर्णय भएको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ । त्यसैको प्रतिफलस्वरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र सेवा सुदृढीकरणका लागि प्राधिकरण लागिपरेको प्राधिकरणले जनाएको छ ।

विमानस्थलको आधुनिकीकरण र व्यवसायीकरणका लागि पर्यटनमन्त्री आलेले सहजीकरण गरिदिनुभएको छ । मन्त्री आलेकै पालामा टिआइए २४ घण्टा सञ्चालनमा आउन लागेको हो । “पर्यटनमन्त्री आलेको बोर्ड बैठकमा पटकपटकको निर्देशनबमोजिम प्राधिकरणले आन्तरिक गृहकार्य गरेर यो योजना सार्वजनिक गरेको हो”, सञ्चारकर्मीसँग कुरा गर्दै महानिर्देशक अधिकारीले भने ।

कोभिडपछि अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थलमा उडान चाप बढेको छ । उडान चाप बढ्नु सुखद् पक्ष पनि हो ।
हवाई यातायातको बढोत्तरी मुलुकको अर्थतन्त्रका लागि पनि धेरै राम्रो अवसर भएको प्राधिकरणको बुझाइ छ । साथै यसको व्यवस्थापनमा चुनौती उत्तिकै छन् । त्यसैले विमानस्थलको प्रभावकारी व्यवस्थापनका लागि आफूहरु जुटिरहेको महानिर्देशक अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *