पाँच वटा बाख्रा एक ठाउँ भए पनि भैसी जत्रो हुँदैन : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले चाहे ७ दिनमा वर्तमान सरकारको जरा उखेलेर फालिदिने बताएका छन् ।सोमवार बझाङमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘एमालेले चाहेको ७ दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छौं, चुनाव प्रभावित नहोस् भनेर चुप लागेर बसेका छौं ।’
ओलीले सत्तारुढ गठबन्धनप्रति लक्षित गर्दै पाँच वटा बाख्रा एक ठाउँ भए भैसी जत्रो नहुने टिप्पणी गरे । ओलीले भने, ‘पाँच वटा बाख्रा एक ठाउँ भए भैसी जत्रो हुँदैन होला ।
उहाँहरू एमालेसँग चुनाव लड्न सक्नुहुन्न, आफूलाई जोगाउनु छ भने खुसुक्क एमालेसँग मिलेर १–२ वटा पालिका सिट फुत्काए हुन्छ । एमालेसँग सिङ जुधाए भाँचिन्छ ।’
राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरिएकोप्रति लक्षित गर्दै ओलीले एमालेको रिसले गभर्नरलाई निलम्बन गरिएको बताए । ‘मैले पहिले पनि भन्ने गरेको थिए, रिसाएको बिरालोले खाबो चिथोर्छ, अहिले उहाँहरूको हालत त्यस्तै भएको छ । रिसाएर गर्भनरलाई बर्खास्त गर्नुभयो ।’सरकारमा बसेकाहरू ज्वाइँ, सम्धि, भाइ, सालो नियुक्तमा लागेका उनले आरोप लगाए । ‘सरकार कानमा तेल हालेर सारा षड्यन्त्र गरिरहेको छ । ज्वाइँ नियुक्त गर, सम्धि नियुक्त गर, भाइ नियुक्त गर, अर्को नियुक्त गर, सालो नियुक्त गर भतिजो नियुक्त गर, यसैमा लागेका छन् सरकारमा बसेकाहरू,’ उनले भने ।
सरकारले चुनाव भाँड्ने र स्थानीय तह रिक्त बनाउने षड्यन्त्र गरिरहेको ओलीले आरोप लगाए । ‘चुनाव रोक्ने कोसिस धेरैपल्ट गरिसक्यो, हामीले विरोध गरेर समयमै, समयमै त अझ फागुनमा गर्नुपर्थ्यो कानूनअनुसार, संविधानअनुसार, कानून परिवर्तन गरेर, संसद अन्त्य गरेर, अध्यादेश ल्याएर नक्कली कानून ल्याएर चुनाव नगराउन खोजेको छ, ।