निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा नेकपा (एस)लाई स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा एकीकृत समाजबादीले आचारसंहिता उल्लंघन गरेको उजुरी प्राप्त भएको र सो विषयमा तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिए ।
त्यस्तै आयोगले चुनाव खर्चबारे दिएको सार्वजनिक भनाइका विषयमा कांग्रेसका नेता डा। शशांक कोइरालासँग जवाफ मागेको छ । २०७४ को निर्वाचनमा कोईरालाको निर्वाचन खर्च विवरण २१ लाख ७५ हजार मात्र उल्लेख भएको र ६ करोड खर्च भएको अभिव्यक्ति दिएको भन्दै यस बिषयमा सात दिनभित्र जानकारी दिन भनिएको प्रवक्ता पौडेलले बताए ।
स्थानीय निर्वाचनका लागि २८ जिल्लाको ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिए।