टेलिकमको डाटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई दुई करोड ११ लाख पुगेको छ । चालु आर्थिक वर्षमा कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ ।साथै कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई दुई करोड तीन लाख ९७ हजार पुगेको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीले कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको र त्यसरी भ्वाइस र डाटा दुवै सेवामा कम्पनी नेपालको अग्रणी संस्थाको रूपमा स्थापित हुन सफल भएको जानकारी दिए।
प्रविधिमा भएको विकास र परिवर्तनसँगै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको, बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रवद्र्धनका लागि प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा समेत कूल राजस्व र खुद नाफा क्रमशः रु ४२ अर्ब २१ करोड र रु सात अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको उनले बताए ।