बलेफी हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने चैत २१ गते सोमबार (आज) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १६ गतेदेखि निष्कासनमा ल्याएको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओमा सर्वसाधारणले आजसम्म मात्र आवेदन दिन सक्नेछन् ।
आईपीओ खरिदका लागि आइतबारसम्म मागभन्दा १२ दशमलव ७६ गुणा बढी आवेदन परेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी दिएको छ । उक्त दिनको बेलुका ५ः३० बजेसम्म १८ लाख ७० हजार ७०९ जनाले २ करोड १२ लाख २६ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् ।
कम्पनीले कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनद्वारा सर्वसाधारणका लागि निष्कासन गरिने छ । आईपीओ खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।