राजनीतिक दलको विकल्प राजसंस्था हुंदैन्,चुनावमा एमालेसँग तालमेल :कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताएका छन् ।मंगलवार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक दलको विकल्प राजनीतिक दल नै भएको बताए ।उनले भने, ‘दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन ।’ जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उनले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताए ।
उनले भने, ‘हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौं ।’ हिन्दू राज्यको पक्षमा रहेको बताउँदै उनले निर्मल निवासले चाहेजस्तो सहज अबको समयमा नरहेको बताए ।थापाले विगतमा आफूले राजसंस्थाका लागि गरेका कामप्रति कुनै पश्चाताप नभएको बताए । उनले भने, ‘अझै पनि राजसंस्थाप्रति उच्च सम्मान रहेको छ ।’
नेपाल एकीकरण, प्रजातन्त्र स्थापना र देश सुदृढीकरणमा राजसंस्थाको उच्च योगदान रहेको उनको भनाइ थियो ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्ने सम्भावना रहेको उनले बताए । राष्ट्रियतासँगको सवालमा एमालेसँग निकट भएको भन्दै उनले भने, ‘सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ ।’
स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने उनले दाबी गरे ।