विदेशी संस्थाले गलत सूचना दिएको अफगानिस्तानको आरोप
अफगानिस्तानको राष्ट्रिय तथ्यांक तथा सूचना निकायले केही विदेशी संस्थाहरुले मानवीय सहायताका विषयमा गलत तथ्यांक प्रस्तुत गरी विश्वलाई गुमराहमा पारेको आरोप लगाएको छ ।
अफगान नागरिकका नाममा जथाभावी विदेशी सहायता उपलब्ध गराइएका कारण करोडौं डलर हिनामिना भएको उक्त निकायका उपनिर्देशक हसिबुल्लाह मुवाहेदले बताएको अफगानिस्तानको टोलो टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।
दुर्भाग्यवश, विश्व खाद्य कार्यक्रम र अरु अधिकांश विदेशी संस्थाहरुले मानिसहरुलाई हरेक दिन गलत तथ्यांक र सूचना उपलब्ध गराउँदै आएका छन् र यसरी उनीहरु अफगान नागरिक अनि विश्वका मानिसहरुलाई झुक्याइरहेका छन् । यस्ता तथ्यांक आधारहीन छन् ।’ मुवाहेदलाई उद्धृत गर्दै टोलोले लेखेको छ ।
उनका अनुसार यसरी आएको विदेशी सहयताले अफगानिस्तानको आर्थिक अवस्थालाई नराम्रो बनाउने मात्र नभई गरिबी समेत बढाइरहेको छ । ‘यसले गरिबी नघटाउने मात्रै होइन, गरिबीलाई अझ बढाउँछ ।’ उनले भने ।
यसैबीच अफगान अर्थमन्त्रालयले मानवीय सहायतालेमात्रै देशको आर्थिक अवस्था नउकास्ने टिप्पणी गरेको छ ।