चैत १८ बाट १७ औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता
नेपाल तेक्वान्दो संघले चैत १८ बाट १७ औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ ।
तेक्वान्दो संघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्नसमेत यो प्रतियोगिताको आयोजन गर्न लागेको संघले जनाएको छ ।
२६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरूले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष एवं आयोजक समिति अध्यक्ष भानबहादुर चन्दले जानकारी दिए ।प्रतियोगितामा सिनियर तथा जुनियर गरी २६ वटा वजन समूहमा प्रतिष्पर्धा हुने पनि उनले जानकारी दिए ।प्रतियोगितामा करिब ३६ लाख रुपैयाँ खर्च हुने संघले जनाएको छ ।प्रतियोगिता दुई दिन चल्ने छ ।