चालू आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले घट्यो
चालू आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले घटेको देखिएको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु. ५४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।चालू आवको सात महिनामा समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,००,१०२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २६५.९ प्रतिशतले वृद्धि भई १,५२,३२५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको थियो ।
यस अवधिमा खुद ट्रान्सफर ४.२ प्रतिशतले कमी आई रु.६०३ अर्ब ७३ करोड कायम भएको छ ।