खप्तड गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा मनाङ
मनाङ मर्स्याङ्दी क्लब खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।
खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्यो। पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पूजन उपरकोटीले गोल गरे। हिमालयनका उल्रिच शिवे र पिस्टन मुटाम्बाले गोल गरे। विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके।
खेलको २८औँ मिनेटमा शिशिर लेखीले गोल गर्दै मनाङलाई सुरवाती अग्रता दिलाएका थिए। तर, खेलको ८०औँ मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
अब उपाधिका लागि मनाङले फागुन २८ गते वाग्मती युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ। वाग्मती र फ्रेन्ड्सबीचको खेल बिहीबार हुनेछ।प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ नगद प्राप्त गर्नेछ।