सरकार अल्पसङ्ख्यक र सिमान्तकृतका अधिकार सुनिश्चित गर्न क्रियाशील : प्रधानमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु-फो-ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।

उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनले सरकार अल्पसङ्ख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *