तुलसीले भविष्यमा हुने शुभ-अशुभ घटनाको संकेत गर्ने विश्वास
हिन्दु धर्ममा तुलसीको बिरुवालाई शुभ मानिन्छ । विष्णुको प्रिय र माता लक्ष्मीको अंश मानिने तुलसी धर्म र ज्योतिषका अलावा वास्तु शास्त्रमा पनि महत्त्वपूर्ण मानिन्छ ।
जुन घरमा तुलसीको वास हुन्छ, दैनिक पूजा गरिन्छ त्यहाँ सुख–समृद्धि रहने वास्तुको मान्यता छ । यस अलावा तुलसीले वातावरणमा सकारात्मकता समेत ल्याउने धार्मिक विश्वास छ । तर तुलसीको बारेमा केही नियम भने पालना गर्नु पर्ने हुन्छ ।घरमा तुलसीको बिरुवा भए यसले घरका सदस्यको मात्र नभइ अन्य कैयौँ संकटबाट समेत बचाउने धार्मिक मान्यता छ । साथै तुलसीले भविष्यमा हुने शुभ–अशुभ घटनाको संकेत दिने समेत विश्वास गरिन्छ । तुलसीको बिरुवामा अचानक आएका परिवर्तन यसका संकेत हुन् ।
क. तुलसीको बोट मरे
घरको तुलसी अचानक मरेमा भविष्यमा समस्या आउने संकेत मानिन्छ । तसर्थ यस्तो भएमा तुरुन्तै मरेको तुलसी बोट उखेलेर नयाँ रोपी भगवान विष्णुको आराधना गर्नु पर्दछ ।
ख. नयाँ बिरुवा सुकेमा
यदि घरमा तुलसीको नयाँ बिरुवा रोपेको २ दिनमै सुकेमा यो पितृदोषको संकेत मानिन्छ । पितृ दोषका कारण घरमा झगडा हुने मान्यता रहकाले यी दुवै संकेत देखिए तत्काल पितृदोष निवारणको उपाय गर्नु पर्दछ ।
ग. तुलसी अचानक हरियो भएर आए
तुलसीको बिरुवा अचानक बढे वा हराभरा भएर आए यसलाई शुभ मानिन्छ । यसले सुखद घटनाको पूर्व संकेत दिने धार्मिक विश्वास छ ।