अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचियो,तीन ट्रक नदिमा खसे
संखुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ ।
मकालु–५ को नुम र वडा नम्बर–१, वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बोकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।प्रजिअ खतिवडाले निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको बताए ।
ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताए ।