आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्छ : डा.शेखर कोइराला
नेपाली कांग्रेसभित्र ५ दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ ।जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रवारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठेको हो ।
कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा। शेखर कोइरालाले पार्टीको औपचारिक बैठकमै गठबन्धनलाई अप्राकृतिक भन्दै निरन्तरताबारे प्रश्न गरेका हुन् ।
‘मैले विगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात् रूख छापमै मतदान गर्न पाउनुपर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु, यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्शविपरीत अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरूको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सीट जित्न सक्छ,’ बैठकमा धारणा राख्दै कोइरालाले भनेका छन् ।उनले जारी बैठकमा आफ्ना तर्फबाट ५ बुँदे धारणा राखेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार पनि बस्ने भएको छ । बिहीबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारसम्म लम्बिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।