ओली र शेखर कोइरालाबीच बालकोटमा के भयो कुराकानी ?
मंगलबार साँझ बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
चर्कदै गएको राजनीतिक माहोलमा ओली र कोइरालाबीचको भेटलाई महत्वका साथ हेरिएको छ । ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ कोइराला बालकोट पुगेका हुन् ।ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला कांग्रेस नेताहरुले सक्रियता बढाएका छन् ।
थपलियाका अनुसार बालकोटमा ओली र कोइरालाबीच अढाइ घण्टा कुराकानी भएको हो । छलफल एमसीसी अनुमोदन, स्थानीय चुनाव र संसदमा जारी अवरोध हटाउने विषयमा केन्द्रित थियो ।