७७.३२ प्रतिशतले बढ्यो नेरुडे लघुवित्तको खुद नाफा
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १३ करोड १६ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ७ करोड ४२ लाखभन्दा बढी थियो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ७७ दशमलव ३२ प्रतिशत बढेको हो । सञ्चालन नाफा ११ दशमलव २८ प्रतिशत घटेको कम्पनीको खुद नाफा भने खराब कर्जा संकलनले बढाएको हो । गत वर्ष रू. ११ करोड ७८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १० करोड ४५ लाखभन्दा बढी यो नाफा गरेको हो ।
गत वर्ष नभएको खराब कर्जा संकलन यस वर्ष रू. १० करोड ४३ लाखभन्दा बढी भएको छ ।यस वर्ष २१ दशमलव ४८ प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीको चुक्तापूँजी रू. ६० करोड पुगेको छ । जगेडा कोष रकम पनि गत वर्षभन्दा ११ दशमलव ३५ प्रतिशत बढेर रू. ६३ करोड ३३ लाखभन्दा बढी कायम भएको छ ।
कम्पनीले ४६ दशमलव ८९ प्रतिशत बढी रू. ४ अर्ब ९२ करोड १६ लाख कर्जा सापटी लिएको छ भने ३५ दशमलव ७७ प्रतिशत बढी रू. ९ अर्ब ४६ करोड ८५ लाख कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा कम्पनीले २० दशमलव ९३ प्रतिशत बढी रू. २ अर्ब ९६ करोड ८६ लाख निक्षेप संकलन गरेको छ । गत वर्ष ४ दशमलव २७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ६८ प्रतिशत पुगेको छ ।