वैशाखमा चुनाव गर्न गठबन्धन तयार भएको माधव नेपालले दिए संकेत


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् । अध्यक्ष नेपालले चुनावबाट आफूहरू नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आगामी चुनावसम्म सत्तारूढ गठबन्धन कायम रहने दाबीसमेत गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारूढ गठबन्धन फुटाउन चर्को रूपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरू सत्तारूढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि दाबी गरे ।

चुनावसँग हामी आत्तिएका छैनौँ । चुनाव यही वैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौँ । चुनाव यदि जेठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौँ । असारमा गर्ने हो भने सामना गर्न तयार छौँ । असोजमा गर्ने हो भने सामना गर्न तयार छौँ । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ । केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौँ, उनले भने ।उनले कांग्रेस नेताहरूले गठबन्धन चुनावसम्म कायम राख्नुपर्ने प्रतिवद्धता जनाएको दाबी समेत गरे । कांग्रेसका सबै नेताहरूले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको छ । स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिवद्धता व्यक्त गर्नु भएको छ, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *