प्रचण्डलाई कोरोना पुष्टिपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा, आज पीसीआर गरिने
राजनीतिक दलका शीर्ष नेताहरुले मञ्च र सामाजिक सञ्जालमार्फत कोभिड-१९ बाट बच्न सामाजिक दुरी अपनाउन आग्रह गर्छन्। तर आफै भने धमाधम आफ्ना राजनीतिक दलका सभा सम्मेलनमा सहभागी हुन्छन्।
पछिल्लो समय राजधानी काठमाडौंमा माओवादी केन्द्रको महाधिवेशन भयो। पुस १९ गते पद तथा गोपनियताको शपथ लिएका माओवादी नेताहरुमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको छ। शनिबार बिहानमात्र माओवादी नेता नारायणकाजी श्रेष्ठले आफूलाई कोरोना संक्रमण पुष्टि भएको खुलाए। संक्रमण पुष्टिसँगै आफू १४ दिने आइसोलेसनमा बस्ने घोषणा उनले गरे।
लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि आफूलाई कोरोना भएको पुष्टि गरे। शुक्रवार बेलुका गरिएको एन्टिजेन परीक्षर र पीसीआर परीक्षणमा प्रचण्डलाई कोरोना पुष्टि भएको उनको निजी सचिवालयले जनायो।
अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी एन्टिजेन र पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ, प्रचण्डको निजी सचिवालयले फेसबुकमार्फत् भनेको छ।
स्वास्थ्य अवस्था सामान्य रहे पनि प्रचण्ड स्वास्थ्यकर्मीको सल्लाहअनुसार केही दिन आइसोलेसनमा बस्ने उनको सचिवालयले जनाएको छ। माओवादी नेताहरु हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ।
सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा भएको शपथ समारोहबाट धेरैलाई कोरोना संक्रमण भएको आशंका माओवादी नेताले नै गरेका छन्। उक्त समारोहमा २ सय ३६ जना सदस्यहरुले सपथ लिएका थिए भने कार्यकर्ता र सञ्चारकर्मीको पनि बाक्लो उपस्थिति रहेको थियो।
प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। शनिवार बिहानै १० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेपछि बालुवाटार फर्केर देउवा आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाको कोभिड–१९ को परीक्षण आइतबार (आज) हुनेछ।