नाडेप लघुवित्तले बोलायो साधारण सभा, लाभांश पारित हुने


नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २० गतेको सञ्चालक समितिको बैठकले नौविसे एग्रो रिसोर्ट, नौविसे धादिङमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश समेत वितरणयोग्य बनाउँनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू ४० करोड ४८ लाखको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो ।
यी प्रस्तावहरुसँगै कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरु निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय गरेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ती गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ । डिप्रोक्ससँगको प्राप्ती प्रकृयाका लागि कम्पनीको शेयर कारोबार २०७७ पुस १६ गतेदेखिनै रो्क्का रहेकाले सोही मितिलाई सभाको बुक क्लोजको मिति तय गरिएको छ ।

यस कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू। ९४ लाख ११ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफामा ७९ दशमलव ३८ प्रतिशत कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू। ४ करोड ५६ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू। ५३ लाख ४६ हजार छुट्याएको कम्पनीले यस वर्ष रू। ३ करोड ७७ लाख १७ हजार छुट्याएको हो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ७९ दशमलव ७७ प्रतिशत कम रू। १ करोड ४० लाख ५० हजार भएको छ । खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा करिब २५ प्रतिशत घटेर रू। १० करोड २८ लाख ५४ हजारमा सिमिति भएको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू। १३ करोड ६९ लाख ५७ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *