नेकपा माओवादी केन्द्रको आठौ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै
नेकपा माओवादी केन्द्रको आठौ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
नेकपा माओवादी केन्द्रले यसअघि पहिलो राष्ट्रिय सम्मेलन भन्दै आएको भए पनि शनिबार बेलुका बसेको स्थायी कमिटी बैठकले आठौँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।महाधिवेशनको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने माओवादी केन्द्रले जनाएको छ ।
यसअघि राष्ट्रिय सम्मेलन भनेर सबै तयारी पूरा गरिए पनि अन्तिम समयमा महाधिवेशन भनिँदा तयारी नपुग्ने एक नेताले बताए । उनका अनुसार त्यसकारण उद्घाटन समारोह केही समय ढिला हुन सक्ने देखिएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थायी कमिटीको बैठकअघि सम्पादकहरुसँगको अन्तरक्रियामा राष्ट्रिय सम्मेलन भनिए पनि महाधिवेशनको सबै प्रक्रिया पूरा गरिएको बताएका थिए ।
“हामीले राष्ट्रिय सम्मेलन भने पनि सदस्यता नवीकरण, टोल सेल गठन, पालिका सम्मेलन, प्रतिनिधि चयन, प्रदेश सम्मेलन सबै प्रक्रिया पूरा गरेका छौँ,” दाहालको भनाइ थियो, “त्यसैले महाधिवेशनको लागि सबै आवश्यक प्रक्रिया पूरा भएको छ ।”
उनले आफूहरुको महाधिवेशन चितवनमा भएको नेकपा एमाले र काठमाडौंमा भएका कांग्रेस र राप्रपाको भन्दा फरक हुने बताएका थिए ।