नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग सभापतिको छलफल, आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गरेका छन् ।सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार पार्टी पदाधिकारीसँग छलफल गरेका हुन् ।कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गरेका हुन् ।
मुख्यसचिव पौडेलले भने, ‘सभापति र पदाधिकारीहरूको छलफलमा शनिवार हुने प्रमाणपत्र वितरण कार्यक्रम र त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे विमर्श भएको छ ।’ उनका अनुसार कांग्रेसले शनिवार नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीबारे पनि छलफल भएको छ ।
शनिवार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केहीबेर बस्ने तयारी भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले काँग्रेस केन्द्रीय कार्यालयमा निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम शनिवार बिहान ११ बजे रहेको बताए ।
मंसिर २४-२८ गतेसम्म चलेको १४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री देउवा निर्वाचित भएका छन् ।
उपसभापतिमा खड्का र गुरुङ, महामन्त्रीमा थापा र शर्मा निर्वाचन भएका छन् ।
सहमहामन्त्रीमा डिना (महालक्ष्मी) उपाध्याय, जीवन परियार, फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, बद्री पाण्डे, महेन्द्र यादव, किशोरसिंह राठौर र उमाकान्त चौधरी निर्वाचित भएका छन् ।
विभिन्न क्षेत्रबाट २ निर्विरोधसहित १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।