घरेलु मैदानको जितसँगै मनाङ शीर्ष स्थानमा

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिवार पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदानमा मनाङले पुलिस क्लबविरुद्धको खेलमा ३-१ को जित निकालेको हो।
मनाङको तीन गोलमध्ये दुई गोल अञ्जन विष्टको नाममा रह्यो। निशान लिम्बुले पनि मनाङका लागि एक गोल गरेका थिए।खेलको १०औँ मिनेटदेखि अञ्जनको गोलमार्फत अग्रता लिएको मनाङविरुद्ध पुलिसले ३६औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएर बराबरीमा ल्यायो। सुमन लामाको गोलमा पुलिसले खेललाई बराबरीमा पुर्याएको थियो। खेलको सुरुआतदेखि नै मनाङ आक्रमक रुपमा प्रतिस्पर्धा गर्दै पुलिसलाई दबाब दिन सफल बनिरहेको थियो।
पहिलो हाफसम्म बराबरी रहेको खेलको दोस्रो हाफमा मनाङले पुनस् अग्रता लिन सफल भयो। ७३ औँ मिनेटमा अञ्जनले बक्स बाहिर पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै मनाङलाई २-१ को अग्रता दिलाए। त्यसको १० मिनेटपछि निशानले एक गोल गर्दै पुलिस विरुद्ध मनाङलाई ३-१ को जित दिलाए।जितसंगै मनाङ लिगको शिर्ष स्थानमा उक्लिएको छ।