अब दैनिक दुई लाखलाई कोरोनाविरुद्धको खोप
नेपाल सरकारले दैनिक दुई लाखजनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ ।
यसका लागि आवश्यक खोप, खोप केन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ ।
मन्त्रिपरिषद्को यही मंसिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रूपमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले दैनिक दुई लाखजनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए ।“अहिले पनि करिब दुई लाखजनाका हाराहारीमा खोप लगाइरहेका छौँ,” उनले भने, “खोप लगाउन आएका कोहीलाई पनि खोप नलगाइकन फर्काएका छैनौँ । खोप केन्द्रमा आएका सबैलाई खोप लगाएका छौँ ।”
उनका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पुर्याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।