स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गणकहरुको गुनासो
राष्ट्रिय जनगणना–२०७८ मा खटिएका गणकले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका छन् ।कतिपय नागरिकलाई जनगणनाबारे जानकारी नै नभएको गणकहरूले बताएका छन् ।
कतिपयले पर्याप्त जानकारी दिन आनाकानी गरेको बताइएको छ । थाहा नपाउनेहरूसँग जनगणनाका क्रममा सूचना लिन कठिन भएको गणकहरू बताउँछन् ।
देश विकासका लागि तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण आधारका रूपमा रहेको राष्ट्रिय जनगणनामा खटिएका अधिकांश गणकले स्थानीय तहबाट आफूहरूलाई पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका हुन् ।काठमाडौँ महानगरपालिका-२६, लैनचौर क्षेत्रमा खटिएका गणक शरद डाँगीले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरे। “काठमाडौँ सहरजस्तो ठाउँमा त कतिपय नागरिकलाई सूचना दिन अनुरोध नै गर्नुपर्ने अवस्था छ”, उनले भने, “कतिपय नागरिकले जनगणनाबारे जानकारी नभएर पनि सूचना दिन गाह्रो मानेका हुन् । त्यसका लागि स्थानीय तहले नियमित रूपमा जनगणनाका लागि माइकिङ गर्ने, समुदाय सचेतना कार्यक्रम गर्दा जनगणना सफल बनाउन सहज हुन्थ्यो ।”
देशभरका ७५३ स्थानीय तहका छ हजार ७४२ वडाले जनगणना अवधिभर नियमित रूपमा माइकिङ गरी समुदाय सचेतना गर्नुपर्ने सुझाव उनको छ । सबैको मोबाइलमा बजेको जनगणनाको रिङटोनले भने केही सहज भएको उनीहरूको भनाइ छ ।