७९.३८ प्रतिशतले घट्यो नाडेप लघुवित्तको खुद नाफा
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रू. ९४ लाख ११ हजार खुद नाफा गरेको छ । शुक्रवार सार्वजनिक गरेको कम्पनीको उक्त अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफामा ७९ दशमलव ३८ प्रतिशत कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५६ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ५३ लाख ४६ हजार छुट्याएको कम्पनीले यस वर्ष रू। ३ करोड ७७ लाख १७ हजार छुट्याएको हो ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि ७९ दशमलव ७७ प्रतिशत कम रू. १ करोड ४० लाख ५० हजार भएको छ । खुद ब्याज आम्दानी पनि गत वर्षभन्दा करिब २५ प्रतिशत घटेर रू. १० करोड २८ लाख ५४ हजारमा सिमिति भएको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. १३ करोड ६९ लाख ५७ हजार खुद ब्याज आम्दानी गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड ४८ लाख रहेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम ३२ प्रतिशतले बढेर रू. ३७ करोड ९८ लाख १४ हजार कायम भएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट गत वर्षभन्दा १४ प्रतिशत कम रू. १ अर्ब ९९ करोड ७३ लाख कर्जा सापटी लिएको छ भने १४ दशमलव ७५ प्रतिशत बढी रू. १ अर्ब ५९ करोड १५ लाख निक्षेप संकलन गरेको छ । कम्पनीको कर्जा प्रवाह भने गत वर्षभन्दा ५ दशमलव २७ प्रतिशत बढी रू. ४ अर्ब ५१ करोड २ लाख रहेको छ ।