बीपी स्वास्थ्य प्रतिष्ठानको समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या अन्त्य गर्न गठित समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति विरोध खतिवडाको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिले शुक्रबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवदेन बुझाएपछि मन्त्री खतिवडाले छिट्टै बस्ने प्रतिष्ठानको सिनेट बैठकले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरी देखिएका समस्याको समाधान गर्न बाटो खुलाउने दाबी गरे । उनले आन्दोलनरत पक्ष, प्रतिष्ठानका कर्मचारी, शिक्षक, विद्यार्थी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र अन्य सरोकारवालासँग बसेर गरिएको छलफल र विगतमा गठन गरिएका समितिले दिएका प्रतिवेदनको समेत अध्ययन गरी प्रतिवेदन तयार गरिएको जानकारी दिए । प्रतिवेदनमा प्रतिष्ठानमा भइरहेको अनियमितता, चिकित्सकको आन्दोलन तथा प्रतिष्ठानका पदाधिकारी हटाउने विषयमा छानबिन गरी सुझाव दिएको उनले बताए ।
प्रतिष्ठानमा भ्रष्टाचार, अनियमितता बढेको भन्दै त्यहाँका चिकित्सक चार महिनादेखि आन्दोलनमा उत्रिएका छन् ।