फूलखेतीबाट मनग्य आम्दानी
तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गरेका छन् ।
मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर्ष ६० हजारको फूल फूलेपछि उनी उत्साहित भएका हुन् । यो वर्ष उनले साढे चार रोपनी बारीमा व्यावसायिक रुपमा सयपत्री फूल लगाएका छन् । चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उहाँले बाँझो बारीमा सयपत्री रोपेका छन् । भदौ दोस्रो साता लगाएको सयपत्रीको फूल यतिबेला ढकमक्क छ । कोदो समेत फूल्न छाडेको बारीको गह्रामा ढकमक्क फूल फुल्दा मनमोहक देखिएको छ ।
एउटै बोटमा ८० वटासम्म सयपत्रीको थङ्गा फुलेको छ । तिहारमा मात्रै सयपत्री बेचेर रु दुई लाख बढी आम्दानी हुने उनले बताए । सयपत्री फूलको बजार राम्रो रहेकाले यसबाट सन्तुष्ट रहेको उनले सुनाए ।