न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्छ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले न्यायालयमा भएको बेथितिलाई गठबन्धन सरकारले हटाउनुपर्ने बताए । न्यायालयको अवस्था बिग्रिसक्दा समेत राजनीतिक दलका नेताहरूले न्यायालयमा दखल गर्नु हुँदैन भनेर बस्न नमिल्ने धारणा राखे ।नेता सिंहले भने, ‘‘नेताहरू न्यायालयमै गर्नुपर्छ भन्छन्, पार्टीहरूले दखल नै दिनु हुँदैन भनेर बोलिराछन्, सरकार गठबन्धन अनि न्यायालयमा भएको बेथितिमा यो सरकारका नेताहरूले करेक्सन नगरे कसले गर्छ ? कसको जिम्मा त ? कसले प्रधानन्यायाधीशले गर्ने ? जो आफैँ विवादको केन्द्रविन्दुमा छ, न्यायालयले मात्रै गर्छ ? यो त सरकारको काम हो, सरकारले गर्नुपर्ने काम नगर्ने ? खालि भाग्दै हिँडेर हुन्छ, समस्या आएपछि समाधान गर्नुपर्छ, यसमा सरकारको ध्यान जान जरुरी छ ।’’
उनले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु ठिक नभएको बताए । नेपालको त्रुटिपूर्ण व्यवस्थापकीयका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेता सिंहले कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गरेकाले आगामी दिनलाई हेरेर काम गर्नुपर्ने बताए ।