प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै


प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप-२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कँदै छन्।

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा यही कात्तिक १२ गते लण्डन प्रस्थान गरेका हुन्। प्रधानमन्त्री नेतृत्वको टोली बुधवार स्थानीय समय दिउँसो १.५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै आज बिहान काडमाडौँ आइपुग्नेछ। वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप-२६ मा सहभागी रहेकाले उनीबाहेक भ्रमण टोलीमा रहनुभएका अन्य सबैजना स्वदेश फर्किनेछन्।

स्वदेश फर्कनुअघि आज प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोपेका थिए।
पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए। त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *