कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने रमा एकादशी आज


हिन्दु धर्ममा एकादशी व्रत महत्त्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष चौबीस एकादशी र अधिकमास वा मलमास परेमा २६ एकादशी हुन जान्छ । कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो ।

रमा एकादशीको कथा अनुसार प्राचीन कालमा मुचुकुन्द नाम गरेका एक राजा थिए । देवराज इन्द्रसहित यम, कुबेर, वरुण र बिभीषणसँग उनको गहिरो मित्रता थियो । उनी विष्णु भक्तिका कारण धर्मात्मा र न्यायमूर्ति थिए । उनको चन्द्रभागा नाम गरेकी एक छोरी थिइन । जसको विवाह चन्द्रसेन राजाका पुत्र शोभनसंग भएको थियो ।शोभन दुर्वल, कमजोर र भोक सहन नसक्ने थिए । एक दिन शोभन कार्तिक कृष्ण पक्षमा ससुराली मुचुकन्दकोमा पुगे । त्यतिबेला रमा एकादशी नजिकिएको थियो र मुचुकुन्दले राज्यभरी एकादशीका दिन भोजन गर्न नहुने घोषणा गरे । यो खबरले शोभन चिन्तामा परे, उनीसंगै पति भोक सहन गर्न नसक्ने भएकाले चन्द्रभागा पनि चिन्तामा परिन् ।

चन्द्रभागाले उपाय निकाल्दै भनिन्, स्वामी पिताको राज्यमा एकादशीका दिन जीवजन्तुले समेत भोजन गर्दैनन् । त्यसैले तपाईँ अन्यत्र गई भोजन गर्नुहोस् । तर एकादशी व्रत विधि चाहिँ पुरा गर्नुहोस् । पत्नीको कुरा सुनेर शोभनले अन्त नजाने बरु व्रत नै बस्ने जे परे पनि सहने बताए र व्रत बस्ने निधो गरे ।

रमा एकादशीका दिन शोभनले व्रत बसे । तर भोक, प्यासले व्रतको भोलिपल्ट प्रातकाल मै उनको मृत्यु गयो । पतिको मृत्युपछि चन्द्रभागा माइतै बस्न थालिन् । रमा एकादशी व्रतको प्रभावले शोभनको इन्द्र राज्य सरह धनधान्य र सुखले युक्त मंदराचल पर्वतमा पुनर्जीवन प्राप्त भयो।

एक दिन राजा मुचुकुन्दकै राज्यका एक ब्राह्मण तीर्थयात्राका क्रममा भुल्लिएर मन्दराचल पर्वत पुगे । त्यहाँ उनले राजकुमार शोभनलाई देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सबै इति बृतान्त जानकारी लिए । शोभनले ससुरालीमा हुँदाका सबै घटना सुनाए र रमा एकादशीको व्रतको प्रभावले स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राह्मणलाई सुनाए ।

तीर्थयात्रा सकिएपछि ब्राह्मणले चन्द्रभागालाई सविस्तार सुनाए । त्यसपछि ब्राह्मणका साथमा चन्द्रभागा मन्दराचल गइन् र वामदेव ऋषिका आश्रममा बसिन् । ऋषिले चन्द्रभागासंग सबै बृतान्त सोधे र वेद मन्त्रहरुद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरिरपनि दिव्य प्रज्वलित भयो ।

अन्ततः चन्द्रभागा आफ्ना पतिका समीपमा पुगिन् र रमा एकादशी व्रतका प्रभावले अभूतपूर्व मिलन गर्न सकिन् । शोभन र चन्द्रभागा सदासर्वदा सुख समृद्धि प्राप्त गरी मन्दराचलमा राज्य बिराज गरे ।

रमा एकादशी व्रतमा भगवान् विष्णुका पूर्णावतार केशव रूपको विधिवत् धूप, दीप, नैवेद्य, पुष्प एवं मौसम अनुसारका फलहरूले पूजा गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *