बागलुङको घुम्टेमा आज र भोलि विश्वशान्ति पूजा हुंदै


धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आज बुधबार र भोलि विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ ।

तीन हजार ११० मिटर उचाइको घुम्टेमा अवस्थित सिद्ध–भैरव मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजापाठ गरिने केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए। विश्वशान्तिको कामनासहित केन्द्रले गत वर्षदेखि दसैँ र तिहारबीचको अष्टमीमा पूजाको तिथि बसालेको हो ।यज्ञ, पूजापाठ, सङ्र्कीतनलगायत धार्मिक अनुष्ठानका लागि सबै तयारी पूरा भएको अध्यक्ष बस्नेतले बताए। लाखबत्ती प्रज्वलन गर्न चाहने भक्तजनका लागि बत्ती र पूजा सामग्रीको प्रबन्ध केन्द्रले नै गर्ने भएको छ ।
सो वापत सेवा दस्तुर भने भक्तजनले तिर्नुपर्नेछ । तीनसुते बत्तीका लागि रु २० हजार, पाँचसुतेका लागि रु २५ हजार र नौसुतेका लागि रु ३५ हजार दस्तुर निर्धारण गरिएको छ । “पूजा परम्पराले धार्मिक पर्यटक घुम्टे चढ्न आकर्षित हुने विश्वास लिइएको छ”, अध्यक्ष बस्नेतले भने ।

ऐतिहासिक सिद्ध–भैरवको मन्दिर रहेको घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाका अवसरमा विशेष पूजापाठ हुने गर्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्ध–भैरवको दर्शनका लागि हजारौँ दर्शनार्थी सो दिन घुम्टे पुग्छन् । छिमेकी जिल्लाका धार्मिक पर्यटकसमेत घुम्टे चढ्न लालयित हुन्छन् ।

वैशाखे पूर्णिमामा मात्र नभएर अरु याममा पनि धार्मिक पर्यटकलाई घुम्टेमा आकर्षित गर्ने उद्देश्यले विश्वशान्ति पूजाको परम्परा बसालिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । कात्तिक, माघ र साउनमा बली नचल्ने हुँदा ती महिनामा वैदिक विधिपूर्वक पूजा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *