ओलीले सरकार ढलाएर ढल्दैन, महाधिवेशन छिटो हुनुपर्छ : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ सम्भव नहुने बताएका छन्। सुदूरपश्चिमको दुई दिने भ्रमणका लागि धनगढी पुगेका वरिष्ठ नेता पौडेलले यस्तो भनाई राखेका हुन्।

संसद पुर्नस्थापनाको मुद्दामा कांग्रेस अघि बढेको हुनाले अर्ली इलेक्सनको पक्षमा हुनै नसक्ने पौडेलको जोड थियो। ‘हामी अर्ली इलेक्सनको पक्षमा छैन। यसबारे पार्टीमा छलफल पनि भएको छैन। हुनुपनि हुँदैन। संसद पूरा कार्यकाल जानुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने।एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढाल्ने कुरा गरेकोप्रति उनले अचम्म व्यक्त गरे। ओलीले सरकार ढाल्छ भनेको छ नि? सञ्चारकर्मीको जिज्ञासामा पौडेलको जवाफ थियो, ‘सरकार ढालेर ढल्दैन।’

अन्तर्क्रियाकै क्रममा पौडेलले महाधिवेशन सक्दो चाँडो हुनुपर्ने बताए। यद्यपि कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै नसुल्झेकाले तोकेको समयमा महाधिवेशन नहुने देखिएको छ। यससम्बन्धी प्रश्नमा पौडेलको जवाफ थियो, ‘महाधिवेशन छिटो हुनुपर्छ। वैधानिक प्रक्रियालाई नछोडी गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *