न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट,१३ हजारको आवेदन रद्द
न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार आइपिओ बाँडफाँट गरिएको हो ।
कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये २ लाख ९ हजार २५० आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो । निष्काशित सेयरमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।