अनावश्यक आशंका र टिप्पणीले न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल असर पर्छ
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विजया दशमी लगायत पर्वहरुले नेपाली समाजमा एकता, सहिष्णुता र आपसी सद्भाव कायम गरेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले विविधताबिचको एकता कायम गरी सामाजिक ऐक्यबद्धता प्रवर्द्धन गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताए।
जबराले शुभकामना सन्देशबाट आफूमाथि लागेका आरोपको पनि खण्डन गरेका छन्। प्रधानन्यायाधीशको कोटाबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाइएको भन्दै आलोचना भइरहेको बेला जबराले आफू संविधानले आत्मसात गरेको शक्तिपृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिकाको अवधारणामा प्रतिबद्ध रहेको बताएका छन्।
संविधानले दिएको भूमिका र जिम्मेवारी प्रति दृढता व्यक्त गर्दै उनले शुभकामना सन्देशमा भनेका छन्, ‘त्यसमा कहीँ कतैबाट आँच आउन नदिन सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि म थप स्पष्ट गर्न चाहन्छु।’