मन्त्रालय भागवण्डाले गठबन्धनमा रस्साकस्सी, नेकपा समाजबादीमा असन्तुष्टि
नेकपा एसमा मन्त्रालयको विषयमा नेताहरु बीचमा असन्तुष्टि बाहिरिएको छ ।
आज बसेको स्थायी कमिटिको बैठकमा मन्त्रालय कम पाएको भन्दै नेताहरुले असन्तुष्टि पोखेका छन् । स्थायी कमिटी सदस्य विरोध खतिवडाले बढी मन्त्रालय पाए आफ्नो दललाई सहज हुने बताए । बैठकले पार्टीमा असन्तुष्टि बढेपछि मन्त्रीहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।
अहिले नेता नेपाल गठबन्धनको शीर्ष नेताहरुको बैठकमा भाग लिन सिंहदरवार पुगेका छन् । “अस्ति भएका निर्णयमा केही हेरफेर हुनसक्छ, आजको बैठकमा परिमार्जनसहित फाइनल हुन्छ,” उनले भने,“अलि बढी मन्त्रालय भएर बढी मानिसहरु अटाउन पाए नयाँ दललाई सहज हुन्थ्यो भन्ने हो।”
यही विषयले गठबन्धनमा झगडा वा विवाद हुने स्थिति भने नभएको उनले बताए ।