आज कागे अष्टमी: कागेश्वरीमा भक्तजनको भीड


प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ ।

यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् ।यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ । कागे अष्टमीसमेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका–१मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *