‘भिजिट भिसा गिरोहलाई संरक्षण गर्ने नेताको नाम बताउन सक्छु’


भिजिट भिसामा विदेश गएर अलपत्र परेको गुनासो सधैँ सुनिन्छ । एजेन्टले देखाएको राम्रो आम्दानीको प्रलोभनमा परेर नेपालबाट ठूलो संख्यामा भिजिट भिसामा विदेश जाने गरेको पाइन्छ । तर, विदेश पुगेपछि उनीहरू आफू ठगिएको थाहा पाउँछन्, उद्धारका लागि सरकारदेखि संसस्थासम्म गुहार्न थाल्छन् ।भिजिट भिसामार्फत अनधिकृत रूपमा विदेश पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको निष्कर्ष गृह मन्त्रालयले सुनाएको छ । बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदका प्रश्नमा जवाफ दिने क्रममा गृहसचिव एकनारायण अर्यालले भने, ‘‘भिजिट भिसामा राजनीतिक ब्याक सपोर्ट छ । भिजिट भिसाका गिरोहका संरक्षक राजनीतिज्ञको नाम पनि बताउन सक्छु ।’’

अर्यालले नाम चाहिँ खुलाएनन् । उनले भने, “क–कसको छ, त्यो म पछि भनौँला, व्यक्ति पनि भनौँला । यहाँबाट कोलम्बो लैजाने, दिल्ली लैजाने, दुबई पठाउने र त्यहाँबाट तेस्रो मुलुक पठाउने काम भइरहेको छ ।”यतिमात्र होइन, उनले मानव तस्करको सञ्जाल तोड्ने हो भने नियन्त्रणको निकाय दुबईमा खोल्नुपर्ने बताए । यसका लागि आवश्यक पहल गरिदिन पनि उनले अनुरोध गरे ।समितिमा गृहमन्त्री रवि लामिछाने, गृहसचिव, प्रहरी प्रमुखले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । दोस्रोपटक गृहमन्त्री भएपछि गृहमन्त्री लामिछाने पहिलोपटक संसदीय समितिमा उपस्थित भएका हुन् ।

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न काठमाडौंको ठमेल क्षेत्रमा तयारी भइरहेको जानकारी गृह मन्त्रालयले दियो । प्रमुख जिल्ला अधिकारीले सुरक्षा चुनौती र यसका समाधानबारे छलफल चलाइरहेका छन् । पोखरामा भने रात्रिकालीन व्यवसाय सञ्चालनको काम सुरु भइसकेको छ ।

सांसद कृष्णगोपाल श्रेष्ठले रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा आउने चुनौतीका विषयमा प्रश्न उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *