मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने विषयमा गठबन्धनका दलहरुबीच सहमति
सत्तारुढ गठबन्धनका दलहरुबीच छिटो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । सोमबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने चर्चाका बीच सोमबार बिहान सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
बैठकमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिति थियो ।
बैठकले मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने सहमति गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनले गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताए ।यस्तै बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले पनि मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताए ।
तर, मन्त्रालयबारे टुंगो भने नलागेको उनले बताए । उनका अनुसार शीर्ष नेताहरु फेरि बैठक बसेर मन्त्रालयबारे पनि टुंगो लगाउने छन्।