कांग्रेस नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षा बमोजिम काम गर्ने
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षाबमोजिम काम गर्ने बताएका छन् ।
ज्येष्ठ कांग्रेस संघद्वारा शनिबार काठमाडौंमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, “यो अरू कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो । जनताले चाहेको सरकार भएकाले जनअपेक्षाबमोजिम नै काम गर्नेछ ।”सहमहामन्त्री डा. महतले अघिल्लो कम्युनिस्ट सरकारले बाटो नबिराएको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन र कानुनीराजको सुनिश्चितता गरेको भए अहिले नै कांग्रेस सत्तामा आउने थिएन भने ।
देशमा भ्रष्टाचार र अनियमितता बढेको तथा नागरिक महामारीको मारमा परेका बेला पनि सत्ताका लागि कम्युनिस्ट पार्टीहरूबीच भएका लुछाचुँडीले जनतामा निराशा छाएर यो सरकारलाई विकल्पका रूपमा रोजेका उनको तर्क थियो ।