अझै पनि प्रतिगमनको खतरा कायमै रहेको माओवादी केन्द्रको निष्कर्ष
नेकपा माओवादी केन्द्रले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटी बैठकले प्रतिगामी कदम असफल भए पनि प्रतिगामी खतरा भने अन्त्य नभइसकेको निष्कर्ष निकालेको हो ।
‘प्रतिगमनको खतराप्रति सचेत हुँदै संविधान तथा लोकतन्त्रको रक्षा र कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्नुपर्छ भन्ने बैठकको निष्कर्ष रह्यो,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘प्रतिगमनको खतरा रहँदासम्म वाम गठबन्धनको सहकार्यलाई कायमै राखिनेछ ।’साथै सरकार र प्रतिनिधिसभालाई पूर्ण कार्यकालमा सञ्चालन गर्दै सफल पार्न पनि अपिल गरिएको उनले बताए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित भएको छ ।