अफगान राष्ट्रपति कार्यालय पनि तालिबानको कब्जामा, राष्ट्रपति घानी देश छाडेर ताजकिस्तानमा
तालिबानका वरिष्ठ कमाण्डरहरुले अफगानिस्तानको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिइसकेको दावी गरेका छन्। राष्ट्रपति असरफ घानी देश छाडेर ताजकिस्तान गएसँगै तालिबानले राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएको एपीले उल्लेख गरेको छ।
त्यस्तै, तालिबानले छिट्टै नै सत्ता आफ्नो हातमा लिने र राष्ट्रपति भवनबाट ‘इस्लामिक ईमिरेट अफ अफगानिस्तान’को घोषणा गर्ने बताइएको छ। २००१ मा पनि तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक ईमिरेट अफ अफगानिस्तान’ भएको घोषणा गरेको थियो। तर, ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको आतंककारी हमलापछि पश्चिमी देशहरुसँग मिलेर अमेरिकाले तालिबानलाई सत्ताबाट हटाएको थियो।
अमेरिकी र नेटो सैनिकहरु फिर्ता आउनु भन्दा केही हप्ता अघिदेखि नै तालिबानले विभिन्न शहरहरुमा आफ्नो नियन्त्रण बढाएको थियो। सोही क्रममा शनिवार तालिबान लडाकुहरु राजधानी काबुललाई नियन्त्रणमा लिएका हुन्।
काबुलस्थित अमेरिकी दूतावासले आफ्ना सबै कामहरु स्थगित गरेको छ भने अमेरिकी नागरिकहरुलाई सुरक्षित स्थानमा बस्न भनेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको समेत दूतावासले जनाएको छ।