निधि,कोइराला र सिंहबीचको चाक्सिबारी भेटको राजनीतिक अर्थ
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज भेटवार्ता गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिने उनीहरूको भेटलाई कांग्रेसवृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ ।
कांग्रेसका संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र उनीहरू तीनै जनाले आगामी महाविधेशनका लागि पार्टीको केन्द्रीय सभापतिमा दाबी गर्दै आएका छन् ।
नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उनीहरूबीच मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।
उनीहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले भनेएजस्तै सबै नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकारले ध्यान दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो ।